मौसम सफा हुन अझै केही दिन लाग्‍ने

काठमाडौँ । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार तत्काल वर्षा हुने सम्भावना भने रहेको छैन । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको बताइएको छ ।

वर्षा हुनका लागि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन । गत वर्ष डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन् । मंसिर, पुस र माघ महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ । यस वर्ष माघ सुरु भइसक्दा पनि हिउँदे वर्षा भएको छैन ।

हाल देशका प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री र अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आइतबार सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस २.६ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार