झाँक्री पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ । झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । झाँक्रीलाई बदनियतपूर्वक पक्राउ गरिएकाले थुनामुक्त गर्न आदेश माग्दै रिट दायर गरिएको हो ।

नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेको भन्दै रिट दायर गरेकी थिइन् । आज दायर गरिएको रिटमा अदालतमा रिट दिने र अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दै राजनीतिक अभिव्यक्ति दिँदा रिसइबी साँधेर प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको उल्लेख छ ।

झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति भण्डारीको कदमको चर्को आलोचना गरेकी थिइन् । त्यसयता नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीमा चर्को दबाब परेको समाचार बाहिरिएको थियो । आजै झाँक्रीलाई प्रहरीले राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार