अन्नपुर्णको घारमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ ,घारमा  विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । आइतबार विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर सर्ट हुँदा घारको ओडारे,भुवानीथान,भुन्या,इदार,बिरौटा टोलका घरहरुमा क्षति भएको हो ।भुन्या टोलका जितबहादुर बरुवाल (राम) को पसल जलेर १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार जनप्रतिनिधी र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण संकलन गरेको छ ।

५ वटा कुटानी पिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । ५ जनालाई करेन्ट लागेर सामान्य घाइते भएका छन् । १ जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडा अध्यक्ष खड्काले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत सर्ट हुनुको कारण पहिचान गर्न अध्ययन भैरहेको जनाएको छ ।

केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताउनुुभयो ।घार, शिख, घोडेपानी क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । घारको मुक्तीमार्ग मावीका प्रअ ठगराज बरुवालले विद्युत प्राधिकरणले समयमै प्रशारण र वितरण लाइन मर्मत नगर्दा क्षति ब्यहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार