उदयपुर । उदयपुर प्रहरीले अवैध रुपमा सदरमुकाम भित्र्याउँदै गरेको भारी परिमाणको खैनी र सुर्तिसहित एकजनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार विहान ९ बजे त्रियुगा बसपार्कबाट खटेको टोलीले त्रियुगा नगरपालिका ६ जलजलेदेखि गाईघाटतर्फ आउँदै गरेको अटो रिक्सामा रहेको सुर्ती, खैनी र चालकलाई नियन्त्रणमा लिएको हो ।
जलजलेदेखि गाईघाटतर्फ आउँदै गरेको स. १ ह ३०३४ नं. को अटो रिक्सा चेकजाँच गर्ने क्रममा एनपी ०१ लेखिएको ४९ प्याकेट राजनिवास मसला ब्राण्डको सुर्ती तथा कविर एक्सप्रेस ब्राण्डको २५ थान खैनी बरामद फेला परेको हो । भन्सार तिरेको प्रमाण नभएको सुर्ती, खैनी र अटोसहित प्रहरीले चालक त्रियुगा नगरपालिका ६ जलजलेका बिहारी साहका छोरा २० वर्षीय शंकर साहलाई पनि नियन्त्रणमा लिएको छ ।
सदरमुकाम भित्रिदै गरेको सुर्ती र खैनी कुन दरभाउमा कहाँबाट खरिद गरेर ल्याएको भन्ने खुल्ने कुनै कागजपत्र नभएकाले राजश्व छली गरेर ल्याएको ठहरसहित चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ अवैध सामग्री, अटो र चालक साहलाई आवश्यक कारबाहीका लागि करदाता सेवा कार्यालय गाईघाट पठाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए ।
सो सामग्री २ नं. प्रदेशको सिराहा सप्तरी भएर भारतीय नाका बजारबाट भन्सार छलेर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीको अवैध र राजश्व छली गर्दै भित्रिने सामान नियन्त्रण गर्ने अभियान अन्तर्गत केही समययता प्रहरीले जिल्लाव्यापी अभियान थालेको छ । जस अनुसार सबै युनिटमा खवर गरेर जिल्ला भित्रिने सामग्री चेकजाँच गरी बैध वा अबैध भन्ने यकिन गरेर मात्र जिल्ला भित्रिन दिने निर्देशन दिइएको डिएसपी गौतमले बताएका छन् । nagariknews.nagariknetworkबाट