नेपाल पत्रकार महासंघ म्याग्दीमा ८ पदमा निर्विरोध

बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैटौ जिल्ला अधिवेशनमा विभिन्न पदमा ८ जना निर्विरोध भएका छन् । आइतवार भएको मनोनयन दर्तामा सोमबार दावि विरोध र उम्मेदवारी फिर्ताको अवधिमा जिल्ला समितिमा दुई पद सहित ८ जना निर्विरोध चयन भएका हुन् । महासंघको नेतृत्वको लागि जिल्लामा दुई समूहले आईतवार मनोनयन दर्ता गरेका थिए ।

अध्यक्षका प्रत्यासी ठाकुर प्रसाद आचार्यको समूहबाट मनोनयन दर्ता गर्नुभएका केन्द्रीय परिषद सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा निर्विरोध हुनुभएको हो । त्यसैगरि आचार्यकै समूहबाट महिला सदस्य पदका उम्मेदवार जेनिसा पुरी, प्रदेश परिषद सदस्य पदका उम्मेदवार निर्मल खत्री र विक्रम बोगटी समेत निर्विरोध हुनुभएको निर्वाचन कार्यालयका संयोजक प्रेमबहादुर कार्की (दिपक) ले जानकारी दिनुभयो ।

समावेशी सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका सुदर्शनकुमार श्रेष्ठ समेत निर्विरोध हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरि प्रदेश परिषद सदस्य पदमा अमर बानियाँ र देवी प्रसाद शर्मा समेत निर्विरोध हुनुभएको छ ।

चैत २५ गते हुने निर्वाचनका लागि म्याग्दीमा दुई समुहले प्रतिस्पर्धा गर्दै छन् । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी (माधव समूह)को तर्फबाट क्रियाशिल पत्रकारहरुको समूह बनाएर ठाकुर प्रसाद आचार्यको नेतृत्वमा साझा उम्मेदवारहरु तय गरिएको छ भने प्रेस चौतारी नेपालको तर्फबाट प्रकाश पौडेलको नेतृत्वमा उम्मेदवारी दर्ता भएका छ ।
आचार्य नेतृत्वबाट उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा रेखा रेग्मी, सचिवमा सन्तोष गौतम, सह–सचिवमा धिरनबहादुर खत्री, समावेशी सह–सचिवमा साधन राम्जाली कोषाध्यक्षमा राकेश शर्मा प्रतिस्पर्धामा हुनुहुन्छ ।त्यस्तै पौडेल समुहबाट उपाध्यक्षमा गोरखनाथ सुवेदी, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री, सचिवमा प्रताप बानियाँ, सह–सचिवमा प्रमोद शर्मा, समावेशी सहसचिवमा धनबहादुर रोकामगर( समिर), कोषाध्यक्षमा अमित विश्वकर्मा प्रतिस्पर्धामा उत्रनुभएको छ ।     

आचार्यको समुहबाट सदस्यमा कमल खत्री, सन्दीप खत्री, साजन नेपाली, अनिल पौडेल, गणेश गुरुङ, दलित सदस्य पदमा पदम विश्वकर्मा, अन्य समावेशी सदस्यमा हिमबहादुर छन्त्यालको उम्मेद्वारी परेको छ ।

पौडेललको प्यानलबाट सदस्यमा कृष्ण जिसी, अमृत बास्कुने, ममता बराईली, सन्दिप शर्मा रिजाल, अन्य समावेशी सदस्यमा नजरानासिहँ ठकुरी, दलित सदस्यमा शिव बोहोराको उम्मेदवारी परेको छ ।

त्यसैगरि महासंघको सदस्य पदमा प्रकाश रेग्मीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ । अध्यक्ष पदका उम्मेद्वार आचार्य गोरखापत्र दैनिक म्याग्दीका संवाददातासंगै नवविकल्प साप्ताहिक पत्रिका र विकल्प न्युज डटकमका प्रकाशक र सम्पादक हुनुहुन्छ भने पौडेल धौलागिरी टेलिभिजनमा कार्यरत हुनुहुन्छ । आचार्य महासंघ म्याग्दीको दुई कार्यकाल उपाध्यक्षमा रहेर काम गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार