बुटवल । बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार बेलुकीदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले संचालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।
यी दुइ अस्पतालमा अहिले १ सय १४ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । ती बाहेक प्रादेशिक अस्पतालमा अन्य रोगका गम्भिर बिरामीहरु पनि छन । अक्सिजनको अभाव हुँदा ती बिरामी पनि जोखिममा परेका हुन । भर्ना भएका बिरामीका लागि अहिले दैनिक ६ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ । तर अस्पतालमा पुग नपुग ३ सय सिलिण्डर अक्सिजन आपूर्ति भइरहेको छ ।
अस्पताका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले अक्सिजन स्टक सकिन लागेपछि त्यसको व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभयो । ‘गएराती देखि नै हामी निकै तनावमा छौं । हामीसंग भएको अक्सिजनको मौज्दातले दिउँसो सम्मलाइ थेग्ला । स्थिति नाजुक छ तत्कालै जसरी पनि अक्सिजनको व्यवस्थापन गर्नु पर्नेछ,’ डा. पाठकले भन्नुभयो ।
अक्सिजन व्यवस्थापनका लागि पाठक सहितको टिमले रातभर नसुतेर सरकार, सम्बन्धित निकाय, उद्योग, सप्लार्यस र संघसंस्थासँग हारगुहार गरेपनि भरपर्दो व्यवस्थापन हुन नसकेको प्रादेशिक अस्पतालका स्टोर प्रमुख रुपलाल पन्थीले बताउनुभयो । दैनिक ६ सय सिलिण्डर अक्सिजनको माग छ तर अपूर्ति जम्मा ३ सयको हाराहारीमा हुँदा अक्सिजनको चरम अभाव भएको स्टोर किपर पन्थीले बताउनुभयो ।
केही दिन अघि देखि नै प्रदेश र स्थानीय सरकार समक्ष अक्सिजन आपूर्ति सहज बनाउन माग गरिएपनि सुनुवाइ नभएको स्टोर प्रमुख पन्थीले बताउनुभयो । यहाँका मन्त्री मुख्यमन्त्री, नगरपालिकाका मेयर सबैलाइ जानकारी छ । दुइतिन अघि नै अक्सिजन आपूर्ति सहज बनाउन प्रदेश र स्थानीय सरकारसंग माग गरेका हौं तर खै त सुनुवाइ नै भएको छैन’ स्टोर प्रमुख पन्थीले भन्नुभयो ।
यो अस्पतालमा हाल शंकर अक्सिजन, लुम्बिनी अक्सिजन र एचओ अक्सिजन उद्योगबाट अक्सिजनको आपूर्ति भइरहेको छ । तर ती उद्योगले माग अनुरुपको अक्सिजन आपूर्ति गर्न सकिरहेका छैनन । पछिल्लो समय बिभिन्न संघसंस्था र स्थानीय तहले समेत अक्सिजन स्टक राखेर घरघरमा अक्सिजन पुर्याउने काम गर्दा स्वास्थ्य संस्थाहरुमा अक्सिजन र सिलिण्डर अभाव भएको अक्सिजन सप्लायर्सहरुको भनाइ छ ।
प्रादेशिक अस्पतालका स्टोर प्रमुख पन्थीले बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंकको नाममा अक्सिजन स्टक राखी रहँदा बुटवलकै कोभिड अस्पतालमा भने अक्सिजन अभाव भएर बिरामी जोखीमा परेको बताउनुभयो । कोरोना अस्पतालका चिकित्सकहरुले पनि स्थानीय सरकार र बिभिन्न संघसंस्थाहरुले क्षणिक प्रचार र प्रशंसाका लागि भन्दा संक्रमितको हितमा प्रभावकारी र बहुउपयोगी योजनाहरु ल्याउनु पर्नेमा जोड दिएका छन । nagariknews.nagariknetwork बाट