एजेन्सी । चीनमा बर्ड फ्लूको दुर्लभ भेरियन्ट ‘एच१०एन३’को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ ।
समाचारमा उल्लेख गरिए अनुसार चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय पुरुषमा गतसाता बर्ड फ्लू संक्रमण पुष्टि भएको थियो । उनी अहिले संक्रमणमुक्त भइसकेका छन् । चीनको नेसनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्ड फ्लूका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनलाई एच१०एन३को संक्रमण भएको पुष्टि भएको थियो ।
“एच१०एन३ भेरियन्ट विश्वभर नै मानिसमा देखिएको थिएन । यो कहिलेकाहीँ कुखुराबाट मानिसमा सर्न सक्ने संक्रमण हो र यसको ठूलो संख्यामा फैलिने जोखिम निकै कम छ,” एनएचसीले उल्लेख गरेको छ । नागरिक खबरबाट