हिरा जुग्जाली
काठमाडौं ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंको आयोजना र शुक्रराज ट्रपिकल अस्पताल टेकु,काठमाडौंका भाइरोलोजिष्ट डा.शेर बहादुर पुनको सहजीकरणमा भर्चुअल मार्फत सो कार्यक्रम सम्पन्न भएको हो ।
डा.पुनले पछिल्लो समय नेपालमा देखिएको दोस्रो लहरको न्यु भेरियन्ट पहिलेको भन्दा बढी खतरानाक रहेको बताउनुभयो । । उहाँले नेपालमा देखिएको दोस्रो लहरको न्यु भेरियन्ट भाइरस तिब्र गतिमा फैलिने,पहिलेको भन्दा अहिलेको भाइरस बढी घाटक र सबै उमेर समुहमा संक्रमणको जोखिम हुने भएकोले सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार अहिले नेपालमा अल्फा, देल्टा र कापा भेरियन्ट देखिएको छ । कोरोना भाइरसलाई नजरअन्दाज नगर्न समेत डा.पुनले आग्रह गर्नुभयो ।होमआइशोलेसनमा रहेका कोरोना संक्रमित विरामीलाई छाती दुखेमा, स्वासप्रस्वासमा समस्या देखिएमा ,अक्सिजन लेवल कम भएमा र ओठ निलो हुँदै गएमा तत्काल अस्पताल जान डा.पुनले सुझाउनुभएको छ । दोस्रो लहरको भाइरस सहरमा भन्दा गाउँमा बढी फैलिएको बताउनुभयो ।
स्थानीय जनप्रतिनिधिको समेत सहभागिता रहेको भर्चुअल कार्यक्रममा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न खोप अभियान प्रभावकारी हुने बताउनुभयो । ‘नेपालमा अहिले दोस्रो लहरको भेरियन्ट भाइरस महामारीको रुपमा तिब्र फैलिरहेको छ ,कोरोना भाइरसलाई नजरअन्दाज गर्नहुदैन् ,’–डा.पुनले भन्नुभयो ,‘जुनसुकै भेरियन्ट आएपनि त्यसले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी असर गर्ने भएकोले यथासक्य छिटो सबैलाई खोप लगाउनुनै कोरोनाबाट बच्न एकमात्र उपाय हो ।’ उहाँले थप्नुभयो ,‘खोप अभियानलाई जोड दिएनौं र हामी आफैले पनि थप सतर्कता अपनाएनौं भने तेस्रो लहरको कोरोना भाइरसको महामारी झन बढ्नेछ ।’
कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा, धवालगिरी गाउँपालिका अध्यक्ष थमसरा पुन , म्याग्दी जिल्ला स्थित स्थानीय तहका जनप्रतिनिधीहरू, म्याग्दी जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, तार्केश्वर नगरपालिका प्याप्शनका सचिव नवराज न्यौपाने लगायत करिब दुई सय जनाले सहभागिता जनाएका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष लिल पुनले कोरोना भाइरस सम्बन्धी नागरिकमा सचेतना फैलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले सहजिकरणको लागि डा.पुन लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। धवलागिरी गाउँपालिका समाज काठमाडौं र काठमाडौंमा बस्ने धवलागिरीबासीको पहलमा संकलित रकमबाट ६ लाख रुपैयाँ बराबारको स्वास्थ्य सामग्री खरिद गरेर गाउँपालिकामा पठाएको आकाश केसीले जानकारी दिनुभयो । उक्त सामग्री चक्रबहादुर थापा ,आकाश केसी र रेशम भण्डारीले आवश्यकताको आधारमा वितरण गरिएको छ । अध्यक्ष पुनको अध्यक्षता र सचिव यामलाल सुवेदीको संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।