
नुवाकोट । नुवाकोटका युवा पर्वतारोही विवेक पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका पाण्डेले गत बुधबार दोस्रो पटक सगरमाथाको सफल आरोहण पूरा गर्नुभएको हो ।
सफल आरोहणसँगै पाण्डेले सगरमाथाको चुचुरोमा आफुले २०५१ सालमा एसएलसी उत्तिर्ण गरेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको झण्डा फहराउनुभएको छ । पर्वतारोही विवेक पाण्डेले आफुले अध्ययन गरेको विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयो ।
उहाँले विद्यालयको लोगो, नाम र ठेगानासहितको ‘माउण्ट एभेरेष्ट समिट विसं २०७८’ अंकित विद्यालयको झण्डा फहराउनुभएको छ। विवेकले यसअघि पनि २०७५ जेठ ४ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । रातोपाटीबाट