भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो संख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४ सय ९१ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५ सय ७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएकाहरुको संख्या ८७ हजार ९ सय १७ रहेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९८ लाख ८१ हजार ९ सय ६५ रहेको छ । ती मध्ये सात लाख २९ हजार २ सय ४३ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएरपनि अहिले संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ । अहिलेसम्म ९६.२७ प्रतिशत संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार शनिबारसम्म ३९ करोड १० लाख १९ हजार ८३ पटक कोभिड–१९ परीक्षण गरिएको छ । ती मध्ये शनिबार १८ लाख ११ हजार ४ सय ४६ नमुना परीक्षण गरिएको हो । त्यसैगरी भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५ सय ७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको पनि मन्त्रालयले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार