प्रअ कार्की बेपत्ता प्रकरण : प्रहरी भन्छ ,‘घटनाको नजिक पुगेका छौँ ’

बेनी । आइतबार साँझदेखी बेपत्ता म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोलाका भक्त कार्कीको हत्या गरेर खोलामा फालिएको आशँका गरिएको छ । बगुवाखोला स्थित बालजागृति आधारभुत विद्यालयका प्रअ समेत रहनुभएका अन्दाजी ५५ बर्षिय कार्कीको विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाम,कार्कीले लगाउने हाफ ज्याकेट ,चप्पल र मोवाइल फेला परेको छ ।

विद्यालयमा कार्यरत अन्य दुई जना कर्मचारीसंग पनि प्रहरीले निरन्तर सोधपुछ जारी राखेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही घटनामा संलग्न रहेको आशंकामा बेनी नगरपालिका–५ चुत्रेनीका एक युवालाई कुश्माबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका एक प्रहरी अधिकारीले बताए । पक्राउ परेका कसैको पनि नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

पक्राउ परेका व्यक्ती आइतबार बगुवाखोलामै देखिए पनि घटना पछि भने हिडेरै कुश्मा पुगेको बताइएको छ । ‘घटना स्थलको प्रकृति हेर्दा कर्तब्य ज्यान गरेको जस्तो देखिन्छ ’,ती अधिकारीले भने , ‘विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी घटनाको थप नजिक पुगेका छौँ , छिट्टै दोषी सार्वजनिक हुन्छ ।  ’

बेपत्ताको खोजीसंगै शंकास्पद व्यक्तीहरुसंग सोधपुछ र अनुसन्धानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकृत प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङले बताउनुभयो ।‘घटना अनुसन्धानकै क्रममा रहेकोले हामिले सबै कुरा बोल्न मिल्दैन , उहाँले भन्नुभयो ,  ’घटनाका बारेमा थप डिएसपी साबलाई सम्पर्क गरेर बुझ्नुहोला ,’

घटना बारे थप जानकारी लिन खोज्दा प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने टेलिफोन उठाउनुभएन । बेपत्ता कार्कीको खोजीमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको थियो ।आइतबार बिहान ८ बजे घरबाट विद्यालय जान भनेर निस्कनुभएका कार्की साँझ घर नआएपछि परिवारले खोजी थालेका थिए ।

बौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको भएको बालजागृति आधारभुत विद्यालयका प्रअ कार्की साहित्यसंगै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ ।त्यसैगरी बेपत्ता प्रअ कार्कीको विभत्स ढंगले कुटपिट गरेर म्याग्दी नदीमा फालेर बेपत्ता बनाइएको आशंका गरिएकोले उहाँको खोजी गर्न र जघन्य अपराधमा संलग्न दोषीलाई पत्ता लगाई कडा कारबाही गर्न जिल्ला स्थित पेशागत संघसंस्थाले माग गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार