मन्त्रालय बाँडफाँटमा देखिएको विवादले गठबन्धन टुट्दैन : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ। अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री नेपालीले १ असारमा प्रदेश सभामा आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट पेश गर्नुभएको थियो। सदनमा पेश भएको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन।

मुख्यमन्त्री पोखरेलले यही साता सदन बोलाएर बजेटमाथि छलफल हुने बताउनुभयो। असार २५ गते सदन बोलाएर बजेटमाथि छलफल थाल्छौं’, उहाँले भन्नुभयो, ‘असार मसान्तमा बजेट पारित हुन्छ, त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार हुन्छ।’

अहिले गण्डकी प्रदेशमा मुख्यमन्त्री र चार जना मन्त्री छन्। जसमा कांग्रेस नेता कुमार खड्का सामाजिक विकास मन्त्री छन् भने माओवादी केन्द्रका मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री छन्। मन्त्रिपरिषदमा रहेका जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ बिना विभागीय मन्त्री छन्।

जसपाका आचार्य र स्वतन्त्र सांसद मनाङेले मन्त्रालय बाँडफाँटमा सहमति नभएकाले जिम्मेवारी सम्हालेका छैनन्। मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुअघि आचार्यलाई अर्थ मन्त्रालय दिने लिखित सहमति गर्नुभएको थियो। विश्वासको मत लिएपछि कांग्रेस र माओवादीले उक्त सहमति कार्यान्वयन गर्न नसक्ने बताएपछि आचार्यले अर्थ मन्त्रालय छाडेका थिए।

प्रदेशमा अहिले ११ वटा मन्त्रालय छन्। मन्त्री नियुक्त गर्न र जिम्मेवारी बाँडफाँट गर्न सहमति नभएका कारण केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिनुभएको छ। अहिलेको मन्त्रिपरिषद विस्तारमा देखिएका विवादका कारण गठबन्धन नटुट्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार भेटघाटमा बोल्दै उहाँले भन्नुभयो, ‘यो गठबन्धन राष्ट्रिय परिस्थितिको उपज हो। केन्द्रमा जस्तै प्रदेशमा गठबन्धन बनेको हो। अहिलेको विवादले गठबन्धन टुट्दैन।’

दलहरूबीच भएको विवादका विषयमा मुख्यमन्त्री पोखरेल प्रवेश गर्न चाहेनन्। उहाँले अप्ठ्यारो परिस्थितिमा आफ्नो नेतृत्वको सरकार बनेको भन्दै आगामी यात्रा चुनौतीपूर्ण रहेको बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार