पार्टीको लेटरप्याड दुरुपयोग गर्नेमाथि कडा कारबाही गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीको लेटर प्याड प्रयोग गरी गलत सूचना प्रवाह गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढाकालले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बदनाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु भइरहेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “केही अपराधिक, अराजक एवम् प्रतिगामी तत्वहरुले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लेटर प्याड, पार्टीको छाप र अध्यक्ष कमरेड प्रचण्डको नक्कली हस्ताक्षर राखि सिंगो पार्टी पंक्ति, ५ दलीय गठबन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल बिस्तार सम्बन्धमा भनी गलत सूचना प्रवाह गरिरहेको सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यान आकृष्ट भएको छ ।”

केही समययता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका छन् । यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमयुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गरेको छ ।

माओवादी केन्द्रले यस किसिमका प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरुमाथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग गरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार