नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै

बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार (आज) पदभार ग्रहण गर्दैछन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले बताउनुभयो । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाई भएर गएका छन् ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।

गत वैशाख ६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्रीलाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै यादवसँग विपक्षी गठबन्धन रुष्ट थिए ।

नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले विशेष अधिवेशनका लागि समावेदन गर्ने र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा छन् ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार