लुम्बिनीमा विपक्षी गठबन्धनले ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाए

दाङ । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहे पनि सरकारमा बसिरहेको भन्दै सोमबार फेरि ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी गठबन्धनबाट ४१ जना सांसदको हस्ताक्षर बुझाएको नेपाली कांग्रेसका नेता तथा दाङ निर्वाचन क्षेत्र नं.३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बताउनुभयो।

बुझाएको हस्ताक्षरमा पहिले माओवादी केन्द्र रोजे पनि अहिले आएर फेरि एमालेमा प्रवेश गरेकी भनिएकी विमला खत्री वलीको पनि हस्ताक्षर रहेको छ।गत उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं.३ (ख) बाट निर्वाचित वलीले यसअघि दिएको निवेदनलाई आधार मानेर हस्ताक्षर बुझाइएको चौधरीले तर्क गर्नुभयो।‘अहिले हल्ला जे जस्तो गरिए पनि विमलाजीले यसअघि दिएको निवेदन हामीसँग छ र हामीले त्यसैको आधारमा उहाँको नाम पनि राखेका हौं,’ चौधरीले भन्नुभयो ।

चौधरीका अनुसार साढे १२ बजेतिर विपक्षी गठबन्धनले गत शुक्रबारमात्रै कार्यभार सम्हालेका प्रदेश प्रमुख शेरचनलाई बहुमत आफ्नो पक्षमा भएको भन्दै गठबन्धनबाट माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्री बनाउन दाबी गर्दै हस्ताक्षर बुझाएका हुन्।

‘हामीले आज प्रदेश प्रमुखलाई भेटेर हस्ताक्षर मात्रै बुझाएका छैनौं, प्रमुख भएको नाताले संविधानको रक्षा गर्नका लागि समेत अग्रसर हुन आग्रह गरेका छौं,’ चौधरीले भन्नुभयो ‘ हामीले ६८ (२) को प्रक्रिया थालनी तत्काल गर्न माग गरेका छौं।’ मुख्यमन्त्री पोखरेल अल्पमतमा रहे पनि उनले एकल बहुमतको सरकारको नेतृत्व गर्नु आफैंमा संविधान र कानुनको बर्खिलाप भएको चौधरीले जिकिर गर्नुभयो।

६८ (२) बमोजिम बहुमतीय प्रक्रिया सुरू हुने र त्यसमा विपक्षी गठबन्धन स्पष्ट बहुमतमा रहेको चौधरीको भनाइ थियो। विमलाजी फेरि एमालेमा जानु भयो भन्ने छ नि रु भन्ने प्रश्नमा लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति समेत रहेका चौधरीले विमलाजी कथमकथाचित उतातिर गएको भए पनि त्यसले कुनै फरक नपर्ने बताउनुभयो।

जसपाले मुख्यमन्त्री पोखरेलको सरकारमा सहभागी आफ्ना तीन सांसदलाई कारबाही गरिसकेको छ। त्यसैले उनीहरूको सांसद पद खोसिएको छ। जसले गर्दा उनीहरू मुख्यमन्त्री चुन्ने निर्वाचन प्रक्रियामा सहभागी हुन पाउँदैनन्।

‘यदि विमलाजी एमालेमै फर्किएको भए पनि हामीसँग ४० जनाको संख्या कायमै रहन्छ,’ प्रदेश सांसद चौधरीले भन्नुभयो, ‘ मुख्यमन्त्री पोखरेलको पक्षमा बढीमा अब ३३/३४ जनामात्रै छन्।’त्यस्तै चौधरीले मुख्यमन्त्री पोखरेल एकल बहुमतको आधारमा मुख्यमन्त्री बनेको हुँदा उनी स्पष्ट अल्पमतमा रहेको र बहुमतीय प्रक्रिया सुरू हुनासाथ स्वतस् पदमुक्त हुने दाबी गर्नुभयो।

‘संसदीय व्यवस्थामा कतै अल्पमतले बहुमतलाई रुल गर्न पाउँछरु,’ उहाँले प्रश्न गर्नुभयो, ‘यो त संविधान र कानुनको ठाडो उल्लंघन भयो।’ सुरूमा ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल माओवादी केन्द्रका २ सांसदलाई पार्टीले खाली गराएको छ। एमालेका २ सांसदले राजीनामा दिएका छन्। त्यसैले अहिले प्रदेश सभा ८३ सदस्यीय छ।

नेकपाबाट दाङमा प्रदेश सभा सदस्य बनेकी विमला केसीले केही समय पहिले माओवादी केन्द्र रोजेपछि ४२ सांसद रहेको एमाले अहिले ३८ सांसदमा खुम्चिएको छ। तर, यतिखेर फेरि उनी एमालेमै फर्किएको बताइएको छ। प्रदेशसभामा निर्वाचित मुख्यमन्त्री पोखरेलकै गाउँका एमाले संसद अमरबहादुर डांगीले राजीनामा दिइसकेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार