दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ : माओवादी केन्द्र

काठमाडौँ । माओवादी केन्द्रले दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएको छ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतले क्षमायाचना गर्नुपर्ने बताउनुभएको हो ।

बुधबार राष्ट्रिय सभाको बैठकमा नेता श्रेष्ठले भन्नुभयो, ‘दार्चुला घटनामा भारतले अविलम्ब नेपाल र नेपाली जनतासमक्ष सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ ।’त्यस्तै उहाँले नेपाल सरकारले बनाएको छानबिन समितिले पनि तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले अबका दिनमा ‘हेपाहा प्रवृत्तिका काम नगर्न’ भारतलाई चेतावनी पनि दिनुभएको छ।

पछिल्लो घटनाको कूटनीतिक पहलबाट समाधान निकाल्ने प्रयास राम्रो भए पनि छानबिन समितिको रिपोर्ट छिटोभन्दा छिटो सार्वजनिक गरी भारतसमक्ष गम्भीर विरोध जनाउनुपर्ने श्रेष्ठको माग छ ।

‘छानबिन समितिको रिपोर्ट ल्याएर भारत सरकारसँग छिटोभन्दा छिटो गम्भीर विरोध जनाउनुपर्छ र दोषीलाई कारबाहीको माग तथा पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

त्यस्तै उक्त घटनाबाट नेपाली जनतामा पीडा उत्पन्न भएको श्रेष्ठले बताउनुभयो । ‘नेपाली जनतामा यस प्रकारको अमानवीय र क्रुर घटनाबाट जुन पीडा पैदा भएको छ । त्यो पीडाले देशभक्तिको बाँध भत्काएर आफै प्रतिकार र प्रतिवादमा आउने कार्य ठीक हुँदैन ।

त्यसैले सरकारले यस विषयलाई तत्काल सम्बोधन गर्नुपर्छ,’ उहाँले भन्नुभयो । महाकाली तर्दातर्दै एसएसबीले ‘तुइन काटिदिएपछि’ वैदेशिक रोजगारीमा हिँडेका युवक जयसिंह धामी गत साउन १५ गते महाकालीमा बेपत्ता भएका थिए । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार