
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ। आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।” पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताउनुभयो । काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटा मात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’ फरक प्रसङ्गमा उनले आफू मन्त्रिमण्डलमा सहभागि नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताउनुभयो । रासस