काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद घोटलाको छानबिन गर्ने कुरा उल्लेख गर्दै विगतका अनियमितता पनि छानबिन गर्न आग्रह गरेका छन् । सत्ता गठबन्धनले स्वास्थ्य सामग्री खरिदमा भएको घोटला छानबिन गर्ने विषय साझा न्यूनतम कार्यक्रममा उल्लेख गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा ओलीले स्वास्थ्य सामग्री छानबिनसँगै विगतका घोटलाको पनि छानबिन गर्न माग गरेका हुन् । ‘स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छाबनि गर्ने र दोषी देखिएका व्यक्ति र संस्थालाई कारबाही गर्ने भनिएको छ,’ ओलीले भने, ‘अलि अगाडिदेखि छानबिन गर्नुस् है ।’
विगतमा स्वास्थ्य सामग्री खरिद भएको र ती सामग्री विभिन्न अस्पताल र एयरपोर्टमा नै थन्किएर प्रयोग विहीन भएको उल्लेख गर्दै तिनका बारे पनि छानबिन गर्न उनले सरकारसँग आग्रह गरेका हुन् ।
‘वीर हस्पिटलमा एमआरआई मेसिन थन्किएर बसेका छन् । एयरपोर्टमा छन् । विभिन्न समयका घोटलाको छानबिन गर्नुस् है ।’ओलीले सत्तारुढ गठबन्धनले जारी गरेको साझा न्यूनतम कार्यक्रममा उल्लेख हरेक विषयमा प्रश्न गरेका छन् । ekantipurबाट