खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आपसी विवादमा खुकुरी प्रहार गर्दा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएको छ ।क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजार, नयाँ टोलका अन्दाजी ३५ वर्षीय ओम मलिक डोमको मृत्यु भएको हो ।

आपसी विवादमा खुकुरी प्रहार तथा कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको थियो ।साउन १८ गते सोमबार राति छिमेकी २७ वर्षीय राकेश राय कुर्मीले विवादका क्रममा उनलाई खुकुरी प्रहार गरेका थिए ।

राकेशकी दिदी ३५ वर्षीय रिङ्की देवी कुर्मीले समेत उनको टाउकोमा चिर्पट प्रहार गरेको स्थानीयवासीको भनाइ छ । गम्भीर घाइते भएका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो । तर अवस्था गम्भीर भएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको थियो ।

जनकपुरमा उनको उपचार सम्भव नभएपछि धरान रेफर गरिएको र धरानमा पनि अवस्था बिग्रिदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो ।विराटनगरमा उपचारकै क्रममा गएराति ओमको मृत्यु भएको परिवारजनले जनाएको छ । ओमको एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।

ओमको मृत्यु भएपछि राकेश फरार छन् । १८ साउनमा झगडा भएको र १९ साउन मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिए पनि प्रहरीले राकेशलाई पक्राउ नगरेको भन्दै पीडित परिवारजन आक्रोशित छन् भने मंगलबार आफन्तहरुले शव राखेर प्रदर्शनसमेत गरेका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले ओमको मृत्युको सम्बन्धमा अनुसन्धानका लागि घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलकबहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त भए लगत्तै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार