आगलागी पीडितलाई आर्थिक सहयोग

बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आगलागि पीडितलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको सदरमुकाम बेनीको न्युरोडका आगलागि पीडित प्रमोद शर्मा र जगन्नाथ शर्मालाई उद्योग वाणिज्य संघले तत्काल राहत सहयोग गरेको हो । मंगलबार बिहान आगलागीबाट बेनीको न्युरोडमा जगन्नाथले संचालन गर्नुभएको नतिजा किराना स्टोर्स र प्रमोदले संचालन गर्नुभएको रघुगंगा जुस कर्नर एण्ड डेरी पुर्ण रुपमा क्षति भएको थियो ।

प्रहरीका अनुसार आगलागिबाट दुवै पसलमा करिब ५० लाख बराबरको क्षति पुगेको थियो । आगलागीबाट ठुलो आर्थिक क्षति ब्यहोरेका ब्यवसायीद्धयलाई उद्योग वाणिज्य संघले  २ लाख ३९ हजार ५५० रुपैयाँ सहयोग गरेको संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । संस्थाको ब्यवसायी हितकोषबाट ५० हजार, संघका पुर्व अध्यक्ष, वर्तमान कार्यसमिति र आमन्त्रित सदस्यहरुबाट १ लाख ५० हजार र महिला उद्यमी कार्य समितिबाट उठाइएको ३९ हजार ५५० रुपैयाँ सहयोग जुटेको थियो ।

उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा दुवै ब्यवसायीलाई १ लाख १९ हजार ७७५ रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरिएको बरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दुई ब्यवसायीलाई संघका अध्यक्ष बेलबहादुर कटुवाल निवर्तमान अध्यक्ष उत्तम कर्माचार्य र महिला उद्यम विकास समितिका सभापति लक्ष्मी कार्की लगायतको उपस्थितमा आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार