काबुल विमानस्थलमा गोली चल्दा एक अफगान गार्डको मृत्युमा

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा सोमबार फेरि गोली चलेको छ। विमानस्थलमा खटिएको जर्मन सेनाले ट्विटरमार्फत् सार्वजनिक गरेको जानकारी अनुसार गोली लागेर एक जना अफगान गार्डको मृत्यु भएको छ।

हमिद कारजाई विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा छन् भने अरू नाटो सदस्य राष्ट्रका सैनिकहरू पनि उद्धार कार्यका लागि खटिएका छन्।विदेशी फौजमाथि एक जना अज्ञात बन्दुकधारीले गोली चलाएको जर्मन सेनालाई उद्धृत समाचार संस्था रोयटर्सले जनाएको छ। विमानस्थलको उत्तरी गेटमा भएको गोली हानाहानमा अरू तीन जना घाइते भएको जनाइएको छ।

विमानस्थलमा खटिएका नाटो अधिकारीहरूले स्थिति नियन्त्रणमा रहेको र विमानस्थलका सबै गेट बन्द गरिएको जनाएका छन्। यसअघि तालिबानहरूले विमानस्थलबाहिर भिड नियन्त्रण गर्न लडाकुहरू खटाएका थिए।

गत साता अतिवादी समूह तालिबानले काबुल कब्जा गरेको थियो। तालिबानहरूले काबुल कब्जा गरेपछि उनीहरूले कस्तो शासन लगाउने हुन् र आफूहरूको भविष्य के हुने हो भन्ने डरले हजारौं अफगानहरू देश छोड्न खोजिरहेका छन्। देशबाहिर निस्किन एउटामात्रै विमानस्थल भएकाले काबुल विमानस्थलबाहिर दिनदिनै ठूलो भिड लाग्ने गरेको छ। सेतोपाटी/एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार