विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानद्वारा पत्रकारमाथि कुटपिट

काठमाडौँ । विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर ताकी दरयाबी र फोटोपत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले कुटपिट गरेका हुन् । उनीहरूले बुधबार काबुलमा भएको महिलाहरूको विरोध प्रदर्शनको रिपोर्टिङ गरेका थिए । उनीहरूलाई तालिबानले प्रदर्शनस्थलबाटै नियन्त्रणमा लिएर प्रहरी चौकीमा लगेका थिए । चौकीमै उनीहरूलाई लट्ठी, बिजुलीका तार र कोर्राले हिर्काइएको थियो । केही घण्टापछि कुनै जानकारीबिना उनीहरूलाई छाडिएको थियो ।

दरयाबीले बीबीसी संवाददाता सिकन्दर किरमानीसँगको कुराकानीमा आफूलाई कोठामा लगेर हात बाँधेर कुटिएको जानकारी दिएका छन् । उनले भने, ‘मलाई अर्को कोठामा लगेर पछाडि हात बाँधेर कुटे । मैले प्रतिवाद गरिनँ किनभने त्यसो गरेको भए उनीहरूले मलाई अझ कुट्थे ।’ तालिबानको आठ जनाको समूहले उनीहरूलाई कुटपिट गरेको थियो ।

त्यस्तै नेमतुल्लाह नकदीले विरोध प्रदर्शनकारीको तस्बिर खिचिरहेका बेला तालिबान लडाकुले आफ्नो क्यामेरा खोसेको बताएका छन् । उनीहरूले आफ्नो टाउको खुट्टाले कुल्चिएको पनि उनले बताए । अन्तर्राष्ट्रिय गैरसकारी संस्था सीपेजीका अनुसार पछिल्लो दुई दिनमा तालिबानले १४ जना पत्रकारलाई नियन्त्रणमा लिएर छाडेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार