पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आवद्ध मुलुकहरुसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरुले पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
२०७२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प पश्चात्को पुनर्निमाणमा युरोपियन युनियनको सहयोग अतुलनीय रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । गण्डकी प्रदेशमा उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडिवुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्व बजारमा पुग्न सक्ने बनाउनु थप काम गर्नु पर्ने देखिएको उहाँको भनाइ थियो ।
भेटवार्तामा रानदूत नोना डेप्रेले नेपालको संघयिता सुदृढीकरण लगायतका क्षेत्रमा इयुले सहयोग गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । शासकीय सुधार, न्यायमा पहुँच, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा समेत आफूहरुले काम गर्दै आएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘गरिबी निवारण, वहुक्षेत्रीय पोषण कार्यक्रम हाम्रो प्राथमिकतामा छ ।’ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सघाउन इयु तयार रहेको भन्दै राजदूत नोनाले हातहतियारवाहेकका सामग्रीको व्यापार बढाउन सकिने भनाइ राख्नुभयो।
कोभिड १९ विरुद्धको अभियानमा औषधि, उपकरण सहयोग गरेको भन्दै उहाँले ती सहयोगको प्रभावकारिताका बारेमा इयुले अनुगमन पनि गरिरहेको बताउनुभयो। यसका साथै शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि पनि इयुले लगानी गरेको भन्दै प्रदेशमा के गर्न सकिन्छ भन्ने बारेमा काठमाडौं फर्केपछि छलफल गर्ने भनाइ राख्नुभयो । भेटवार्तामा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी हुनुहुन्थ्यो । राजदूत नोनाले आइतबार नै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष डा. काफ्लेसँग अलगअलग भेट गर्नुभएको छ। dhorpatannewsबाट