कर्णाली प्रदेश सरकारले अन्नबाली क्षति भएका किसानलाई राहत दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारण अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठक अन्नबालीमा क्षति पुगेका किसानलाई राहत दिने निर्णय गरेको हो ।

अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन कृषकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता सीता नेपालीले बताउनुभयो। विपद व्यवस्थापन परिषद्को बैठकले बाढीपहिरोलगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद दुर्घटना बीमाबाट प्राप्त हुने दुई लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र विपदमा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने प्रवक्ता नेपालीले जानकारी दिनुभयो ।

त्यस्तै, विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाइ र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनःस्थापना गर्ने गर्ने प्रवक्ता नेपालीले बताउनुभयो । विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनर्निर्माणको व्यवस्था मिलाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार