
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यङ्ग्यको पात्र बनेका छन् । आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने बताएपछि अहिले उनी व्यङ्ग्यका पात्र बनेका हुन् ।
यसैक्रममा पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले पनि ओलीविरुद्ध कटाक्ष गरेका छन् । उनले ‘ओलीको गिनिज बुक रेकर्ड’ शीर्षकमा ओलीले गरेका ५ काम देखाएका छन् । उनले दुईपटक संसद् विघटन, दुई तिहाइको सरकार ढाल्नु, ६ वटा प्रदेश सरकारमा नेतृत्व गरेको पार्टी अहिले सडकमा पुग्नुलाई गिनिज बुकमा रेकर्ड राख्न लायक काम भन्दै व्यङ्ग्य गरे ।
“ओलीको गिनिज बुक रेकर्ड । १. २–२ पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना, २.संघमा २/३ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा, ३. सरकारी निवासमा विदेशी गुप्तचरसँग घन्टौँ कानेखुसी, ४. मुखमा कम्युनिस्ट मनमा ठोरीवाला राम, ५. हावादारी गफ र उखान टुक्कामा ताली लाउने अरिंगाल सेना !,” भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । नागरिक खबरबाट