एमाले म्याग्दीको वडा अधिवेशन कार्तिक ६ गते हुने

म्याग्दी । नेकपा एमाले म्याग्दीले वडा अधिवेशन यहि कार्तिक ६ गते सम्पन्न गर्ने भएको छ । केन्द्रिय कमिटिको निर्देशन र कार्तिक ४ गते बसेको सचिवालय कमिटिको बैठकको निर्णय अनुसार जिल्लाका सबै वडामा कार्तिक ६ गते अधिवेशन गर्ने गरि तयारी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्लाका ४५ वटा वडा मध्य केही वडा बाहेक सबैमा कार्तिक ६ गते अर्थात भोली नै अधिवेशन सम्पन्न गर्ने गरि तयारी गरिएको जानकारी दिनुभयो । धौलागिरी गाउँपालिका १ गुर्जा लगाएतका केही वडामा भने कार्तिक ८ गते भित्र अधिवेशन सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरि कार्तिक ९ गते पालिका अधिवेशन सम्पन्न गरिने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकाका गाउँ कमिटि अध्यक्ष बिरामी भएर उपचाररत रहेकाले त्यहाँ भने ९ गते नै पालिका अधिवेशन गर्न नसकिने तर त्यस बाहेकका सबै स्थानीय तहमा भने अधिवेशन सम्पन्न हुने उहाँले बताउनुभयो ।

हाल एमाले म्याग्दीको क्रियाशिल सदस्य संख्य ३१ सय बढि पुगेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकामा पार्टीको सदस्य संख्या वढि भएकाले पालिका अधिवेशनका लागि महिला, दलित र मजदुर बर्गका लागि ३ सदस्य बराबर १ प्रतिनिधि रहने र जनजाती तथा खसआर्यहरुका लागि भने २ सदस्य बराबर १ प्रतिनिधिको ब्यबस्था गरिएको छ । त्यस बाहेका अन्य ४ पालिकामा भने २ सदस्य बराबर १ प्रतिनिधि आउन पाउने ब्यबस्था गरिएको श्रेष्ठले बताउनुभयो ।

प्रथम विधान महाधिवेशनबाट संगठनात्मक ब्यबस्थामा पनि केही परिवर्तन भएको छ । जसअन्तर्गत वडा कमिटिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र बढिमा ३१ सदस्य सम्म रहन सक्ने छन भने पालिकाको हकमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरि बढिमा ७५ सदस्यीय बनाउन सकिने त्यसमा ३३ प्रतिशत महिलालाई अनिबार्य समावेश गर्नु पर्ने ब्यबस्था रहेको एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले बताउनुभयो ।

छोटो समयमा अधिवेशन सम्पन्न गर्नु पर्ने भएकाले तयारीमा तिब्रताका साथ लागिएको सचिव सुबेदीले बताउनुभयो । निर्बाचनका लागि आबश्यक सामग्रीहरु पनि वडापालिकामा उपलब्ध गराउने काम भइरहेको छ । पालिका कमिटिलाई सक्रिय बनाईएको छ । आबश्यक कामका लागि जिम्मेवारी सहितको निर्देशन पार्टीले दिएको छ । साथै अधिवेशन सफल पार्नका लागि जिल्ला कमिटि तथा प्रदेश कमिटिका नेताहरुले समन्वय तथा सहजिकरण गरिरहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

कार्यक्रममा नेकपाल एमाले गण्डकी प्रदेश कमिटि सदस्य खुम बहादुर बानीयाँ, बेनी नगर कमिटि अध्यक्ष प्रमोद श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सन्तोष रावल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारी नेपाल म्याग्दीका अध्यक्ष मालती खत्री लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार