
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले १ वडा एक स्वास्थ्य केन्द्र घोषणालाई कार्यान्वयनमा ल्याएको बताउनुभएको छ। भरतपुर महानगरपालिका वडा नं ५ स्थित आनन्दपुरमा सोमबार भीमलाल आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्दै प्रमुख दाहालले जनप्रतिनिधीको रूपमा कार्यभार सम्हालेसँगै नगरवासीको आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी प्रत्येक वडामा न्यूनतम एक स्वास्थ्य केन्द्र स्थापना गर्ने जुन लक्ष्य राखिएको थियो त्यो लक्ष्य पुरा भएको बताउनुभयो ।
उनले हाल भरतपुर महानगरपालिका क्षेत्रभित्र ४२ वटा स्वास्थ्य केन्द्रहरूले आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी समेत दिनुभयो ।सो अवसरमा प्रमुख दाहालले भीमलाल आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता सापकोटा र चापागाई परिवारलाई धन्यवाद दिदै तोकिएकै समयमा निर्माण गरी गुणस्तरिय सेवा संचालन गर्न निर्माण व्यवसायी तथा व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो । यस्तै उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीको स्वास्थ्य प्रवर्द्धनका लागि हमेसा लागि परेको भन्दै यसवाट अधिकतम लाभ लिन आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बन्धु सुवेदीले भरतपुरले विकासको मोडलले अन्य पालिकाहरूलाई सिकाइको बिषय बनेको भन्दै महानगरले सुशासनको अधिकतम प्रत्याभूति दिनेगरी सेवा प्रवाहलाई डिजिटलाईज प्रणालीमा लैजाने तयारी गरिरहेको बताउनुभयो ।कार्यक्रममा अध्यक्ष वडा न १० तथा प्रवक्ता अरुण पिडित भण्डारीले नागरिकलाई स्वस्थ राख्नु अहिलेको मुख्य उद्धेश्य भएको भन्दै महानगरले सोही बमोजिम स्वास्थ्य संस्थाहरूको विस्तार र सेवा क्षेत्रमा स्तरोन्नती गर्दै स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाइएको बताउनुभयो । रातोपाटीबाट