निर्जीवन बीमाको प्रिमियम वृद्धि र सीमा तोक्नु गलत : एफएनसीसीआई

काठमाडौँ । बीमा समितिले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेको प्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । असोज ६ गते समितिले सबै निर्जीवन बीमा कम्पनीहरूको लागि गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दरसम्बन्धी परिपत्र जारी गरेको थियो ।

खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि गरी सोही दरलाई नै न्यूनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढ्ने महासंघको दाबी छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायत आयोजना निर्माणमा संलग्न संघ÷संस्था एवम् उद्यमी व्यवसायीहरूले बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि बीमितले बीमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न सर्तहरूको राखिएको दाबी गरिरहेको छ । यसबारे सबै सरोकारवालासँग अविलम्ब छलफल गर्न पनि महासंघले माग गरेको छ ।

बजारमा प्रतिष्पर्धा निरुत्साहित हुनेगरी नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियद दरसम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न पनि महासंघले आग्रह गरेको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिस्पर्धाद्वारा मुल्य निर्धारण हुने हुँदा न्यूनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ ।अर्थतन्त्रको पुनरुत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि महासंघले आग्रह गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार