मोरङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले संघीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सबभन्दा ठूलो स्वास्थ्य केन्द्रको रूपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री खतिवडाले ३५० शय्यालाई स्तरोन्नति गर्दै थप ५०० शय्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रूपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यक पर्ने दक्ष जनशक्ति व्यवस्था गर्ने जानकारी दिनुभयो। सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अस्पतालमा रहेको शय्याको अभाव सरकारले तत्काल थपको स्वीकृत दिएपछि अन्त्य हुनुका साथै ५० शय्याको आकस्मिक कक्षसमेत रहने बताउनुभयो।
मन्त्री खतिवडाले प्रदेशका अत्यधिक जनताको उपचारको केन्द्रको रूपमा रहेको यस अस्पताललाई प्राथमिकतामा राखेको कारण यसको परिसरमा रु पाँच करोडको लागतमा भवन निर्माण कार्य सुचारु भइरहेको बताउनुभयो। उनले सरकारले आगामी चैत मसान्तसम्म सबै नेपाली जनतालाई कोरोना खोप लगाउने लक्ष्य रहेको र त्यो लक्ष्य समयमा पूरा हुने दाबी गरे।उनले अमेरिकासँग एक करोड र चीनसँग ६० लाख कोरोना खोप ल्याउने सम्झौता भइसकेको जानकारी दिँदै १२ वर्षदेखि १८ वर्षसम्म उमेरका लागि खोप लगाउने तयारी भइरहेको बताउनुभयो।
मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिनासाथ दुई वर्षदेखि १२ वर्षसम्मकालाई खोप लगाउने कार्य सुरू गर्ने बताउनुभयो।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले अस्पतालले बिरामीको उपचार सेवा प्रभावकारी रुपमा प्रदान गरिरहेको बताउँदै दैनिक एक हजारदेखि एक हजार ५०० बिरामी अस्पतालमा आउने हुनाले तत्काल जनशक्ति थप गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो। रासस