
काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ। शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ–पासपोर्ट दिइएको हो। बुधबार विभागमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्।
जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताउनुभयो। उहाँले सरकारलाई सफलताको शुभकामना समेत दिनुभयो। यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उहाँले उल्लेख गर्नुभयो ।राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको कुरा भएको बताउनुभयो।
संसारमै अब नेपालको राहदानी विश्वासयोग्य हुने उहाँले उल्लेख गर्नुभयो।विद्युतीय राहदानी एडभान्स र व्यवस्थित हुने उनले बताए।अब अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने महानिर्देशक अर्यालले जानकारी दिनुभयो।
यसलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विभागले घण्टामा कम्तीमा एक हजार विद्युतीय राहदानी उत्पादन गर्नेछ।परराष्ट्र मन्त्रालयका सचिव भरतमणि पौडेलले एघार वर्ष अगाडिको हस्तलिखित पासपोर्ट सम्झिँदै विद्युतीय राहदानीसम्म पुग्नु सुखद भएको बताउनुभयो।
चुनौती बाबजुद पनि विभाग छोटो समयमा सुरक्षित पासपोर्ट वितरणमा सफल भएको उहाँले बताउनुभयो।एडभान्स टेक्नोलोजी भएकाले यसलाई सफल बनाउन सबै सरोकारवालाको महत्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे।विभागले सतर्कता अपनाएर काम अगाडि बढाएको समेत उल्लेख गर्नुभयो।हामीलाई यो तेस्रो पुस्ताको राहदानी बोकेर हिँड्न पनि गर्व महसुस हुन्छ भन्ने लागेको छ, उहाँले भन्नुभयो। सेतोपाटीबाट