
काठमाडौँ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताउनुभयो।
आइतबार नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म विचौलिया पाल्ने काम नरोकिने दाबी गर्नुभएको छ ।न्यायपरिषद्बाट न्यायाधीशलाई सरूवा काजमा पठाउने अधिकार अझै पनि प्रधानन्यायाधीशले लिइराखेको र सोही अधिकारमार्फत् आफू अनुकूलको काम गर्नसक्ने उहाँको भनाई छ।
‘अहिले न्याय सम्पादनमा प्रधानन्यायाधीशलाई हटाउने काम गर्न खोजिएको छ। तर विचौलियालाई पाल्ने काम न्याय प्रशासनकै छ। न्याय परिषदबाट न्यायाधीशलाई सरुवा काजमा पठाउने अधिकार अहिले पनि कानून विपरित प्रधानन्यायाधीशले लिइराखेका छन्। त्यो नखोसिएसम्म प्रधानन्यायाधीश त ढुक्क भएर बस्लान्। तर उसले खान पाउने तरिका त अर्को छदैँछ’, श्रेष्ठले भन्नुभयो।
गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उनको आग्रह छ। ‘राणालाई जबसम्म न्याय प्रशासनबाट खोसिदैनँ तबसम्म हामीले गोला प्रणालीको आधारबाट अब नङ्ग्रा त गयो उसको, दाह्रा गयो भनेर मात्रै सुख पाउने अवस्था छैन। अर्को चपाउने दाँत छ। सरूवा काजमार्फत् न्यायाधीशहरुलाई थर्काउने काम भइराखेको हुन्छ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो।
अध्यक्ष श्रेष्ठले चोलेन्द्र शमशेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताउनुभयो। ‘न्याय प्रशासन र न्याय सम्पादनमा जबसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हट्दैनन्, तबसम्म यो आन्दोलन कायम रहन्छ,’अध्यक्ष श्रेष्ठले भन्नुभयो। उहाँले आगामी दिनमा प्रधानन्यायाधीश जबराको विरुद्धमा राजनीतिक दलकहाँ र संसदमा पनि जाने भन्दै उनले जानुअघि नै राजीनामा दिन चेतावनी दिनुभयो।setopati