अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णय

सिड्नी । अस्ट्रेलियाले करिब २० महिनापछि आफ्नो अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार पत्रकार सम्मेलन गर्दै योग्य अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने बताउनुभएको हो ।

अस्ट्रेलियाको खोप लगाउन योग्य जनसंख्याको ८५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेपछि प्रधानमन्त्रीको यो निर्णय आएको हो । विद्यार्थीसहित अन्य विदेशीका लागि सीमाना खुला गरिएसँगै करिब २ लाख भिसावाहक केही महिनाभित्रैमा अस्ट्रेलिया भित्रिने सम्भावना रहेको छ । यद्यपि अस्ट्रेलिया आउने विद्यार्थीले क्वारेन्टाइन बस्न पर्ने वा नपर्ने निर्णय भने स्थानीय राज्य सरकारको हुनेछ ।

अस्ट्रेलियामा अहिलेसम्म सबैभन्दा बढी विद्यार्थी आउने राज्यहरु न्यु साउथ वेल्स र भिक्टोरियाले पूर्ण मात्राको खोप लगाइसकेका विदेशी नागरिकलाई क्वारेन्टाइन बस्न नपर्ने बताइसकेका छन भने राजधानी रहेको क्यापिटल टेरिटोरीमा आउन चाहनेले समेत क्वारेन्टाइन बस्न पर्नेछैन । विद्यार्थीले ३ दिनभित्रको कोरोना भाइरस नेगेटिभको प्रमाण भने पेस गर्नुपर्नेछ ।

गृह मन्त्रालयद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार २८ वटा विभिन्न शीर्षकका भिसावाहक विदेशी नागरिकले डिसेम्बर १ तारिखदेखि आउन पाउनेछन् । जसमा विद्यार्थीका साथै दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे, मानवीय, वर्क एन्ड होलिडे लगायतका छन् ।

यसअघि यहाँ आउनका लागि ‘एक्जेम्पसन’ का लागि आवेदन दिनुपर्ने प्रावधान राखिएको थियो । यो प्रावधान हटाएसँगै अब पूर्ण खोप लगाएका र उपयुक्त भिसा भएका हरेक विदेशीले अस्ट्रेलिया प्रवेश पाउनेछन् । प्रधानमन्त्री मरिसनले दक्ष कामदार र विद्यार्थीलाई भित्र्याउन पाउनु अस्ट्रेलियाको लागि महत्त्वपूर्ण भएको बताउनुभयो।

अस्ट्रेलियाको अर्थतन्त्र तथा कामदार परिपूर्तिका लागि यो अत्यन्तै महत्त्वको विषय भएको उहाँको भनाइ छ । ६ राज्य तथा २ टेरिटोरी रहेको अस्ट्रेलियाका ४ राज्य तथा एक टेरिटोरीले अहिले पनि पूर्ण खोप लगाइसकेका विदेशीका लागि लगाइएको क्वारेन्टाइन मापदण्ड हटाएका छैनन् ।

नेपाली कहिले आउलान् ?

विद्यार्थीको क्षेत्रमा काम गरिरहेका व्यवसायी सरकारको निर्णयसँगै ठूलो संख्यामा नेपाली विद्यार्थी डिसेम्बर १ तारिखदेखि आउनसक्ने बताउँनुहुन्छ । सयौँ नेपाली विद्यार्थी भिसा हातमा लिएर अस्ट्रेलिया आउने तयारीमा रहेका छन् । कोरोना महामारीका कारण उनीहररू अस्ट्रेलिया आउन पाएका थिएनन् । उनीहरूले सरकारले तोकेको निश्चित मापदण्ड भने पूरा गर्नुपर्नेछ ।

दक्षिण अस्ट्रेलियाका व्यवसायी अञ्जल पाण्डेले डिसेम्बर १ तारिखदेखि भिसा लागेका र पूर्ण खोप लगाएका नेपाली विद्यार्थी सिड्नी, मेलबर्न र क्यानबेरामा अध्ययनका लागि आउन पाउने बताउनुभयो । ‘नेपालमा महिनौंदेखि अड्किएर बसेका विद्यार्थीका लागि अत्यन्तै खुसीको खबर हो,’ उहाँले भन्नुभयो । तर पनि राज्य सरकार तथा केन्द्र सरकारद्वारा दिइएको सूचना तथा जानकारीलाई मात्र आधिकारिक मानेर निर्णय लिन उहाँले सुझाव दिनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार