महाधिवेशनबाट पार्टीलाई जनताले भरोसा र विश्वास गर्ने बनाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति भएको बताउनुभएको छ । आज कांग्रेसले १४८ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै छ । अधिवेशनबाट सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले आज एक अपिल जारी गर्दै अधिवेशनको प्रक्रियामा भाग लिने प्रतिनिधिहरुलाई रुपान्तरित कांग्रेस बनाउने गरी मत दिन आह्वान गर्नुभएको छ ।“सात दशकदेखि नेपाली राजनीतिमाको हरेक मञ्चमा हाम्रो पार्टीले केन्द्रीय भूमिका निर्वाह गर्दै आएको मा हामीलाई गर्व छ,” थापाले अपिलमा भन्नुभएको छ ,“तर, इतिहासलाई शिरानी हालेर मात्र अब हाम्रो श्रेष्ठता कायम रहन सक्दैन ।

परिवर्तनको बेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भने मात्र हाम्रो श्रेष्ठता प्रमाणित हुँदै जाने छ ।”प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन् । उनीहरु नै केन्द्रीय महाधिवेशनका मतदाता हुन् ।“आज सही निर्णय गर्न सक्यौँ भने मात्र पार्टीले सही गति लिने छ,” थापाले भन्नुभयो,“पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईंहरुबाट हुने छ ।”

नेता थापाले कांग्रेसको आगामी महाधिवेशनबाट आज जनताले भरोसा र विश्वास गर्ने पार्टी बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।“यो महाधिवेशनबाट हामीले त्यस्तो पार्टी बनाउनु छ, जसमा सबै सदस्यले आत्मसम्मान र अपनत्वको अनुभूति गरुन्, जसमाथि आम जनताले भरोसा र विश्वास गरुन,” थापाले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार