प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष अमर गिरीद्धारा एमाले परित्याग

काठमाडौँ । प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष अमर गिरीले एमाले पार्टी परित्याग गर्नुभएको छ । हाल एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका गिरीले बुधबार प्रेस वक्तब्य जारी गरी पार्टी परित्याग गरेको जनाउनुभएको छ ।

उहाँले एमालेमा नवौं महाधिवेशनदेखि दक्षिणपन्थी चिन्तन हलक्क बढेको, महाधिवेशनबाट पारित विचारनीति, कार्यक्रम, कार्यदिशा विपरीत हिँड्न सुरु गरिएको र केपी ओली यस चिन्तनको केन्द्रमा रहेको आरोप लगाउँदै दक्षिणपन्थी विचलनको आफूले सदैव आलोचना गर्दै आएको बताउनुभएको छ । उहाँले पार्टीमा यथास्थितिवादी चिन्तन, चरम व्यक्तिवाद, नेतृत्वको देवत्वकरण, नैतिक मूल्यको गम्भीर क्षय भएको पनि आरोप लगाउनुभएको छ ।

एमाले विभाजनपछि भएको विधान महाधिवेशनमा कमजोरीहरुको गम्भीर समीक्षा र त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धताको महाधिवेशन हुनुपथ्र्यो तर त्यसो भएन । सुरु भएको दसौँ महाधिवेशनमा पनि गम्भीर राजनीतिक, वैचारिक छलफल, विगतका कार्यहरुको सिंहावलोकन, कमजोरीहरुको समीक्षा नभई नेतृत्व चयनमा केन्द्रीत रहेर सकिने भएकाले आफूले दक्षिणपन्थी विचलनका विरुद्ध संघर्ष गर्ने गिरीले बताउनुभएको छ ।

साथै, उनले नेकपा एस गठनको औचित्य पुस्टि भएको जनाउँदै आजैको मितिदेखि नेकपा एसमा प्रवेश गरेको घोषणा गर्नुभएको छ । लामो समय शिक्षण पेशामा रहेका गिरी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञदेखि चलचित्र विकास बोर्डको अध्यक्षसम्म भएका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार