महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताउनुभएको छ । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि शनिबार एक सन्देश जारी गर्दै उहाँले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेसँग २७८ मतले पराजित भएका थिए। सन्देशमा उहाँले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा शुभकामना दिनुभएको छ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा भएको जीत–हारलाई सामान्य रूपमा लिनुपर्ने उहाँको भनाइ छ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री शाहीले राष्ट्रिय चुनावमा पिछडिएका क्षेत्रका पार्टी कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने ध्येयमा आफू रहेको उल्लेख गर्नुभएके छ । उहाँले सन्देशमा भन्नुभएको छ, ‘म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबुटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन।’ nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार