दिएको ऋण माग्दा हत्या !

बैतडी । बैतडीको इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको छ। सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो।

ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ।गत मंसिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मंसिर १६ मा मृतावस्थामा फेला परेका थिए। टाउको र शरीरमा घाउचोट देखिएकाले बोहराको हत्या गरिएको जनाउँदै आफन्तजनले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो।पक्राउ परेका ऐर घटना भएको भोलिपल्टदेखि फरार रहेकोले उनीमाथि प्रहरीले निगरानी बढाएको जनाइएको छ।

प्रहरी निरीक्षक शाहीले भन्नुभयो, ‘कालपोखरी मेलामा ऐर र बोहराको भेट भएको र भेट हुँदा बोहराले ऐरलाई दिएको ऋण माग्दा सोही विषयलाई लिएर रातिका समयमा उनीहरूबीच वादविवाद र झगडा भएको कुरा बुझिन आएको छ।’प्रहरीले हिरासतमा रहेका ऐरमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार