गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी

बेनी । म्याग्दीको धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा रहको क्षेत्र विकास कोषको शनिबार सम्पन्न ७ औं विशेष अधिवेशन तथा १६ औं कार्यकारी सभाले कोषको अध्यक्षमा सर्वसम्मत रुपमा रेग्मीलाई चयन गरेको हो । रेग्मी यस अघि कोषको सदस्य सचिव हुनुहुन्थ्यो । कोषको उपाध्यक्षमा बमबहादुर पुन ,सचिवमा बलबहादुर खत्री  र कोषाध्यक्षमा कुमारी रोका चयन हुनुभएको छ ।

सदस्यहरुमा पुर्णबहादुर बानियाँ ,सुरेन्दराज शर्मा ,रबि कार्की ,आशिका पुर्जा ,हिराबहादुर बरुवाल ,धनप्रसाद रोका ,पुण्य चोखाल ,टिकानन्द सुवेदी ,मनोज पौडेल चयन हुनुभएको कोषका उपाध्यक्ष पुनले जानकारी दिनुभयो । यस अघिको अधिवेशनबाट निर्वाचित अध्यक्ष रुद्रबहादुर कार्कीको निधन भएको र उपाध्यक्ष भिमनाथ पराजुलीले आफै पदाधिकारी रहेको संस्था विरुद्ध उजुरी दिएर विवादमा तानिएपछि जेष्ठ सदस्यको हैसियतमा रेग्मीको अध्यक्षतामा अधिवेशन बोलाइएको क्षेत्र विकास कोषले जनाएको छ ।

कार्यक्रममा सदस्य सचिव रेग्मीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।दुई करोड सत्तरी लाख ३७ हजार ७७४ रुपैयाँ बचत रहेको कोषले चालु आर्थिक बर्षको लागि तीन करोड ९४ लाख र आगामी आर्थिक बर्षका लागि १२ करोड १८ लाख ६० हजार रुपैयाँको आयब्यय विवरण प्रस्तुत गरेको छ । साउन महिनादेखी यता दुई करोड ९२ लाख दश हजार ९१ रुपैयाँ आम्दानी र २१ लाख ७२ हजार ३१७ रुपैयाँ खर्च भएको छ ।

कोषका प्रमुख संरक्षक रहनुभएका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले कोषको रकमलाई प्रभावकारी तथा पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रजिअ रानाले कोषमा रहेको मौज्दात रकम विभिन्न सहकारी छरेर राख्न भन्दा एकीकृत गरेर भरपर्दो बैंकमा राख्न संचालक समितिलाई सुझाव दिनुभयो ।

साधारणसभामा संरक्षक सदस्यका छोरा रमेश शर्मा, जिल्ला मालपोत कार्यालयका मोलपोत अधिकृत कृष्णबहादुर कार्की, बेनी नगरपालिका वडा नम्वर ९ का वडाअध्यक्ष बेलबहादुर चोखाल , म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, धार्मिक क्षेत्रतर्फबाट नेत्र महत, संस्थाका सभाषद चक्रबहादुर केसीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन कोषका कार्यालय प्रमुख राम बानियाँले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार