ओमिक्रोनका कारण आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिन्छ : डा. टेड्रोस

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने दोहोर्‍याउनुभएको छ ।

नियमित प्रेस ब्रिफिङमा बोल्दै उहाँले विश्वका धेरै मानिसहरू अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेको अवस्थामा यसलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउने जोखिम रहने बताउनुभएको छ । ‘ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको छ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार विश्वभर नै भाइरस अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले गर्दा धेरै देशका लागि आगामी केही साता निकै जोखिमयुक्त रहेको छ । उक्त अवधिमा ती देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलै दबाब पर्ने उहाँले बताउनुभएको छ । ‘ओमिक्रोनको फैलिने क्रमलाई रोक्नका लागि म सबैलाई आ–आफ्नो स्थानबाट सकेको मद्दत गर्न अपिल गर्छु,’ उहाँले भन्नुभएको छ, ‘ओमिक्रोनबाट बच्ने सहज अस्त्र भनेकै खोप हो । त्यसैले खोप नलगाएकाहरुलाई म खोप लगाउनका लागि पनि आग्रह गर्छु ।’

उहाँले ओमिक्रोनको प्रकोपका कारण महामारी निकट भविष्यमा नै अन्त्य हुने लक्षण नदेखिएको बताउँदै सम्भवतस् नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने चेतावनी दिनुभयो । उहाँले ओमिक्रोन र अन्य भेरिएन्टविरुद्ध अझ बढी प्रभावकारी हुने खोपको विकास भइरहेको पनि उहाँले जानकारी दिनुभयो । डा. टेड्रोसले अर्को साता ३४ राष्ट्र सहभागी हुने विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्ड बैठक पनि बस्न गइरहेको बताउँदै, सो बैठकको प्रमुख एजेण्डा पनि महामारी र खोपको समतामूलक वितरणमै केन्द्रित हुने बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार