जनकपुरमा सरकारी गाडी तोडफोड, मेयर घाइते

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते हुनुभएको छ । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल हुनुहुन्थ्यो ।

उहाँहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम जादै हुनुहुन्थ्यो । त्यही बेला सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ ।जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

उनीहरु राष्ट्रिय सभा चुनावको मतदानस्थल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि पनि प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडपका घटना भइरहेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानै ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार