
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको छ । सरकारबाट निर्वाचनको मिति घोषणा हुनासाथ कार्यतालिका सार्वजनिक गर्ने गरी आवश्यक तयारी थालेको आयोगले जनाएको छ । निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी जारी राखेको भन्दै आयोगका प्रवक्ता शालिग्राम पौडेलले कार्यतालिका भने सरकारले निर्वाचनको मिति घोषणा गर्नासाथ सार्वजनिक गरिने बताउनुभयो।
उहाँले निर्वाचन मिति घोषणा भएपछि अर्थ मन्त्रालयमार्फत बजेट पास गरिने बताउनुभयो । अयोगले स्थानीय निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमानसहितको प्रस्ताव सरकारलाई गरेको छ ।जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एकसाथ गर्नुपर्ने प्रस्ताव सरकारसमक्ष पेस गर्दै आयोगले यस्तो अनुमान गरेको हो । साथै आयोगले एकै चरणमा निर्वाचन नभए खर्च थप हुने अनुमान समेत गरेको छ । स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुन बमोजिम आयोगले तयारी गर्नुपर्ने हुन्छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वतयारीका अन्य कार्यहरु निरन्तर गरिरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । साथै आयोगले प्रस्ताव गरेअनुसार सरकारले निर्वाचन मिति तोकेमा स्थानीय निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । नागरिक खबरबाट