विधानमा पदाधिकारी बैठकको कल्पना छैन : महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताउनुभएको छ । उहाँले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताउनुभएको हो ।

‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नु परेमा कार्यसम्पादन समितिको बैठक बस्छ भन्ने हो । तर, हप्ता दिन अगाडि सूचना प्रकाशन गरेर कार्यसम्पादन समितिको बैठक बोलाइनुले सिंगो केन्द्रीय समितिको काम, कर्तव्य, गरिमा र अधिकारको नजरअन्दाज गरिएको आभास भइरहेको छ,’ उहाँले निर्वाचनको तयारीबारे कार्यकर्तासँग भएको छलफल कार्यक्रममा भन्नुभयो ।

उहाँले आज बसिरहेको कार्यसम्पादन सतितिको बैठक समक्ष भ्रातृ संस्थालगायत विषयमा विधानको भावनालाई अक्षरशः कार्यान्वयनतर्फ लैजाने र कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक १५ दिनभित्र बोलाउन माग गर्नुभएको छ । उहाँले पार्टी विधि र विधानभित्र रहेर अगाडि बढ्नुपर्ने समेत बताउनुभयो ।

कुनै पनि संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने नेता महरको ठहर जनाउनुभयो । ‘नेतृत्वविहीन भ्रातृ संगठनलाई गति दिनका लागि समयमै ठोस निर्णय लिन आवश्यक छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेतृत्वविहीन भ्रातृ संस्थालाई गति दिनुपर्छ । यसले स्थानीय तह निर्वाचनमा पार्टीका गतिविधिलाई सक्रिय पार्न महत्वपूर्ण भूमिका खेल्ने छ’, उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार