एमसीसी टेबल हुनबाट रोक्ने हामीसँग कुनै संयन्त्र छैन : सापकोटा

काठमाडौँ । नेकपा माओवादीका केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विवादित एमसीसी संसदमा टेबल हुनबाट रोक्ने आफूहरुसँग कुनै संयन्त्र नभएको बताउनुभएको छ ।

उहाँले माओवादीले एमसीसी संशोधनसहित राष्ट्रिय सहमति बिना टेबल गर्न हुँदैन भनेर मत राख्दै आएपनि नटेरेपछि टेबल हुनबाट रोक्न नसकिने सापकोटाले बताउनुभएको हो । एमसीसी टेबल गर्ने कि नगर्ने सरकार र प्रधानमन्त्रीको विषय हो’, सापकोटाले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘हामीले संशोधन सहितको राष्ट्रिय सहमति बिना टेबल पनि गर्न हुँदैन भन्ने मत राख्दै आयौं । तर जनमत, जनदवाव र गठबन्धनलाई नटेरेपछि टेबल हुनबाट रोक्ने हामीसँग कुनै संयन्त्र छैन ।’

उहाँले एमसीसी अनुमोदनका लागी हुने मतदानमा माओवादीले विपक्षमा मतदान गर्ने र संशोधन प्रस्ताव समेत दर्ता हुने बताउनुभएको छ । ‘एमसीसी टेबल भयो भने संशोधन प्रस्ताव पनि दर्ता हुन्छ । संशोधन प्रस्ताव र एमसीसीमाथि छलफल हुन्छ । पक्षमा या विपक्षमा मतदान गर्ने अधिकारमा हामीले विपक्षमा मतदान गर्छौ’, सापकोटाको भनाइ छ ।

उहाँले संसदमा एमालेको अवरोध कायमै रहेको भन्दै एमालेले संसद खुल्न नदिए टेबल एमसीसी टेबल भएपनि छलफल हुन नसक्ने र अड्किने बताउनुभएको छ । ‘सदन खुलाएर एमाले एमसीसीको पक्षमा लागे पास हुन्छ, विपक्षमा लागे फेल हुन्छ । एमसीसी पास भएपनि फेल भएपनि आफ्नो प्रष्ट धारणा लिएर जनताको जानुपर्छ’, सापकोटाले भन्नुभएको छ, ‘सडक, सरकार लगायतका सबै मोर्चाहरुमा दबाव बढाइराख्नुपर्छ । हामीले आजसम्म सबै सघर्ष र कुटनीतिक, राजनीतिक प्रयत्नहरु रोक्नका लागी गर्यौ । हामी न उत्तेजित हुन जरुरी छ न निराश हुन ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार