एमसिसीको विरोध गर्ने भए भीम रावलले पहिले ‘राष्ट्रघाती केपी ओली मुर्दावाद’ भन्नुपर्छ : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगन थापाले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताउनुभएको हो।

उहाँले एमसिसीलाई तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसदमा ल्याएको भन्दै तीनै नेताहरूविरूद्ध नाराबाजी गर्नुपर्ने बताउनुभयो। ‘आज नेपाल सरकारले जुन प्रस्ताव टेबल गरेको छ। यो नेकपाको सरकार मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज टेबल भएको हो।

यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने सबैभन्दा पहिला भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती र मुर्दावाद हो भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ,’ उहाँले अगाडि भन्नुभयो,‘ यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भन्नुभयो, पुष्पकमल दाहाल र माधव नेपाल मुर्दावाद भनेर पार्टीकै सासंदहरूले नाराबाजी गर्नुपर्छ।

त्यसपछि मात्रै उहाँहरूले यसका बारेमा कुरा राख्नुपर्छ।’ आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भएर छलफलका लागि प्रस्तुत हुनु सकारात्मक भएको उहाँले बताउनुभयो। अवरोधका बीचमा छलफल हुन्छ वा हुँदैन भन्ने विषय पनि आजबाट सकिएको उहाँले बताउनुभयो।

‘आजबाट अवरोधकै बीचमा संसदमा छलफल हुन्छ कि हुन्न भन्ने डर पनि यही टुंगिएको छ। हामीलाई एउटै कुराको डर थियो। छलफलमा नेकपा एमालेले भाग लिनुभयो। मजदुर किसान पार्टीले, जनमोर्चाले, माओवादी पार्टी सबैले भाग लिइसकेपछि १२ गतेबाट यसमा सामान्य छलफल प्रारम्भ हुन्छ,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार