पार्टी निर्णयविपरीत बोल्ने रावललाई स्पष्टीकरण सोध्नुपर्छ : बस्नेत

धनगढी । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसद्‌मा आफ्ना धारणा राखेको भन्दै नेता डा.भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसद्को नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाउनुभयो । ‘शून्य समयमा सांसद्ले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिनुभएको छ,’ बस्नेतले भन्नुभयो, ‘यो आपत्तिको विषय हो, रावलले पनि पार्टीको निर्णयविपरीत संसद्‌मा बोल्नुभएको छ, यस विषयमा पार्टीको संसदीय दलमा पनि गुनासो छ, उहाँलाई स्पष्टीकरण सोधिनु पर्दछ ।’

नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा दलीय व्यवस्थाबारे जानकार नै नरहेको आरोप लगाउनुभयो । ‘उहाँले गुरिल्ला शासन व्यवस्थाबारे अध्ययन गरेको जस्तो देखिन्छ,’ बस्नेतले भन्नुभयो, ‘त्यही व्यवस्थाअनुसार उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ, संसदीय व्यवस्थाअनुसार सभामुखको भूमिका निर्वाह गर्न उहाँ असफल हुनुभएको छ ।’

बस्नेतले प्रचण्ड र माधव नेपालका कारण एमसीसी गिजोलिएको बताउनुभयो । प्रचण्ड र माधव नेपालले संसद्‌मा एउटा र बाहिर एउटा बोल्दै एमसीसीलाई विवादको विषय बनाएको र उनीहरूकै कारण एमसीसी अन्तर्राष्ट्रियकरण भएको बताउनुभयो। ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड, नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ उहाँले भन्नुभयो, ‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लग्नु पर्दछ ।’

एमाले गठबन्धन कायम रहँदासम्म एमसीसीका विषयमा केही नबोल्ने बताउँदै उनले गठबन्धन नरहेमा आफ्ना धारणा राख्ने बताउनुभयो । गठबन्धन कायमै रहेका वेला एमालले एमसीसी पारित गर्न सहयोग नगर्ने पनि उहाँले बताउनुभयो । इञ्चार्ज बस्नेतले आगामी चुनावमा माओवादीसँग तालमेल हुने कुनै सम्भावना नरहेको बताउनुभयो । ‘एमालेलाई फुटाउने र आफ्नै सरकार ढालेर रमिता देखाउने माओवादीसँग हाम्रो तत्काल कुनै तालमेल हुँदैन,’ उहाँले भन्नुभयो, ‘प्रचण्डलाई एक्लाएरै छोड्छौँ ।’नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार