अब पनि नामको टुङ्गो नलगाए लाज हुन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम अब पनि टुङ्गो लगाउन नसके लाज हुने बताउनुभएको छ । सरकारको आव्हानमा आज बसेको सर्वदलीय छलफलमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो ।

उहाँले प्रदेशको नाम तोक्ने काम अन्य प्रदेशको तुलनामा पनि ढिलो भएको बताउनुभयो । ‘सङ्ख्यामा पनि र चेतनामा पनि १ नम्बर भएर पनि लाज लाग्ने अवस्था भयो,’ उहाँले भन्नुभयो, ‘अब हिउँदे अधिवेशन र वर्षे अधिवेशन दुई वटा मात्रै भएको कारण अब ढिला नगरौँ, मौकालाई नगुमाऔँ । जनताको अपेक्षा र आवश्यकताले पनि छिटो गर्नुपर्नेछ ।’

पार्टीको निर्देशन अनुसार नै पार्टीको धारणा लिएर नै संसद्‍मा भूमिका सांसदहरूले खेल्ने भएको कारण पार्टी सहितको छलफल राखेको उहाँले बताउनुभयो । ‘राजनीतिक परिवर्तनको घटनाक्रममा यो प्रदेशले महत्त्वपूर्ण भूमिका खेलेको छ । धेरै प्रधानमन्त्री पनि पाएको छ । यो अवस्थामा पनि नामको टुङ्गो लगाउन नसक्ने हो भने त्यो लज्जाको विषय हो ।’ उहाँले भन्नुभयो ।

‘अब हामी अत्यन्तै जिम्मेवारीपूर्वक अगाडि बढौँ । एउटा पहिचान र अर्को भूगोल, मिश्रित पहिचानको अडानमा रहने हो भने नामको विषय टुङ्गोमा पुग्दैन । अब मेरो गोरुको बाह्रै टक्का नगरी लचकताका साथ आफ्नो दायित्व ठानेर दलहरूले पनि छलफल गर्नुपर्‍यो । त्यसखालको संयन्त्र बनाउने हो भने पनि अगाडि बढौँ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार