एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

काठमाडौँ । सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा (समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ।

सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सदनमा अवरोध जारी राखेको अवस्थामा यसलाई अघि नबढाउन ती दुबै दलले आग्रह गरेको हो।

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले भने नियमितरुपमा छलफलको प्रक्रिया अघि बढाउन अडान लिएको छ। विवादका कारण दिउँसो १ बजेका लागि तोकिएको बैठक १ः५० बजेसम्म सुरु हुन सकेको छैन। एमालेले आफ्ना माग पूरा नभएको जनाउँदै कार्यव्यवस्थाको बैठक बहिष्कार गर्दै आएको छ। सो छलफललाई अघि बढाउने वा नबढाउने भन्नेबारेमा माओवादी केन्द्रले पार्टीभित्र छलफल गर्ने जनाइएको छ।

एमालेका नेता डा भीमबहादुर रावलले आजको बैठक बस्ने सम्भावना नरहेको बताउनुभयो। उहाँले सडकमा विरोधकाबीच सो प्रस्तावलाई अघि बढाउन र सत्ताका लागि राष्ट्रियताका सवालमा सम्झौता गर्न नहुने बताउनुभयो । सो सम्झौता यही फागुन ८ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो। सो सम्झौतालाई यही फागुन १६ गतेभित्र अनुमोदन हुने–नहुने निधो गर्न अमेरिका सरकारले समयसीमा दिएको छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार