एमसीसीविरुद्ध आज ३४ दलले विरोध प्रदर्शन गर्दै

काठमाडौँ । विभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएका छन् । एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् ।

दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतीघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरु जुधेका छन् । एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन् ।

शुक्रबार एमसीसी विरुद्ध प्रदर्शनको कार्यक्रम राख्नेमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसिसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठन र नेकपा (माओवादी) रहेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट जवसरमोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम गर्ने कार्यक्रम राखेका छन् । विहान ११ बजे माइतीघर मण्डलमा भेला हुने उनीहरुको कार्यक्रम छ । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० ले एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्दैछ । नेमकिपाले कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने जनाएको छ । नेपालका लागि नेपाली पार्टीले एमसिसी सम्झौता विरुद्ध विहान साढे ११ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने बताएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने घोषणा गरेको छ । मध्यान्ह १२ बजेबाट विरोध कार्यक्रम सुरु गर्ने उनीहरुले जनाएका छन् ।नेकपा (माले), एमसिसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियानले एमसिसी सम्झौता विरुद्ध साढे १२ बजे पुरानो बानेश्वरमा भेला भई विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । प्रदर्शन नयाँ बानेश्वर पुगि सभामा परिणत हुने बताइएको छ ।

एमसिसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन नेपालले बिजुली बजार पुलमा साढे १२ बजे एमसिसी विरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ । नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठनहरूले एमसिसी विरुद्ध कमलादीस्थित प्रज्ञा भवन डबलीमा खबरदारी सभा गर्ने घोषणा गरेका छन् । नेकपा (माओवादी) ले शुक्रबार देशभर एमसीसीको विरोधमा मसाल जुलुस तथा पुत्ला दहन गर्ने जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार