काठमाडौं । माओवादी कम्युनिस्ट पार्टीका संरक्षक गोपाल किराँतीले फागुन १५ गतेको दिनलाई एक अन्धकार दिनका रुपमा टिप्पणी गरेका छन् । सोमबार विज्ञप्तिमार्फत किराँतीले आइतबारको प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोध गर्दै यस्तो टिप्पणी गर्नुभएको हो ।
‘फागुन १५ गते नेपालको इतिहासमा दोश्रो सुगौली सन्धि थोपरिएको एक अन्धकार दिनमा दर्ज भएको छ । त्यस दिन साम्राज्यवादी इन्डो–प्यासिफिक सैन्य रणनीतिको एमसीसी सम्झौता संसदद्वारा अनुमोदन गरेर घोषित दलाल पुँजीवादी कांग्रेसको नेतृत्वमा खुलेआम देशद्रोहको अपराध गरियो’, उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘एमाले गुटको सरकारले संसदमा पु¥याएको त्यस सम्झौतालाई तथाकथित व्याख्यात्मक टिप्पणीको प्रपञ्चद्धारा अनुमोदन गराउने मतियार प्रचण्ड र माधव कुमार नेपाल बन्नुभएको छ ।
अपार देशभक्त जनमत, बौद्धिकवर्ग र केही सांसदहरुको सशक्त आपत्तिलाई कुल्चदै एमसीसी सम्झौता अनुमोदन गर्ने संसद सर्वाङ्ग देशद्रोही संसदमा परिणत भएको छ ।’ उहाँले आफ्नो पार्टीले उठाएको देशभक्तिपूर्ण समाजवादी गणराज्यको आन्दोलन अब नेपाली क्रान्तिको ठोस कार्यभार बन्न आएको पनि जिकिर गर्नुभएको छ । उहाँले अमेरिकाको हस्तक्षेप विरुद्ध गम्भीर प्रतिकृया जनाएको चीनलाई धन्यवाद समेत दिनुभएको छ । रातोपाटीबाट






















