एकीकृत समाजवादीको वैधानिकतासम्बन्धी रिट आइतबारको पेसीमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जनाविरुद्ध दायर रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट आइतबारको पेसीमा चढेको हो ।

एकीकृत समाजवादी पार्टीको वैधानिकता, माधवकुमार नेपाल लगायतको सांसद पद र सभामुखविरुद्धको रिटमा सुनुवाइका लागि आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलास तोकिएको छ । आइतबारको पेसी १२ औँ पटकको पेसी हो । यसअघि ११ पटकसम्म चढेको पेसीमा पहिलोपटक कारण देखाऊ आदेश जारी भएको थियो भने दोस्रो पटकको आदेशमा सक्कल कागजात झिकाउने आदेश भएको थियो ।

त्यसपछिको अधिकांश पेसी हेर्न नभ्याउनेमा परेको थियो भने फागुन १ गतेको पेसी महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको थियो । नेकपा एमाले पार्टी विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । ओलीले संघीय संसदका सभामुख सापकोटासहित निर्वाचन आयोग र एमालेबाट फुटेर गएर १४ जना सांसदलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

रिटमा एमालेले कारबाही गरेका १४ जना सांसदको पद खारेज हुनुपर्ने, ती सांसदहरू आबद्ध भएको एकीकृत समाजवादी पार्टीको वैधानिकता खारेज हुनुपर्ने लगायतका माग गर्दै एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गराएको थिए । लामो समय हेर्न नभ्याउने लगायतका सूचीमा परेको उक्त रिटलाई सर्वोच्चले हालसालै अग्राधिकार दिएको थियो । अग्राधिकार प्राप्त भएपछि उक्त मुद्दामाथिको सुनुवाइ अब छिटो छिटो हुनेछ ।

आइतबार पेसी सूचीको तेस्रो नम्बरमा रहेको कारण आइतबार सुनुवाइ भई केही आदेश आउने अपेक्षा गरिएको छ । एमालेले आफूले कारबाही गरी हटाइएका व्यक्तिहरूलाई सभामुखले फरक पार्टीको नामबाट मान्यता दिएको भन्दै उक्त कदम नसच्चिएसम्म संसद् अवरोध जारी राख्ने बताएको छ । त्यसैको विरोधमा एमालेले लामो समयदेखि संसद् बैठकमा अवरोध गरिरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार