सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : बलायर

डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताउनुभएको छ ।

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नाराका साथ कांग्रेसले सुरु गरेको चुनावी अभियानअन्तरगत आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै बलायरले कम्युनिस्टहरूसँग चुनावी गठबन्धन नहुने दाबी गर्नुभयो । वर्तमान संघीय सत्ता गठबन्धन संविधान जोगाउनका लागि भएको भन्दै उहाँले भन्नुभयो, ‘कांग्रेसका हातले रुख चिह्न बाहेक अन्त भोट जाँदै जान्न, यो मेरो ऐलान हो ।’

उहाँले चुनावी गठबन्धन भहाल्छ कि भनेर नधर्मराउन र ढुक्क रहन पनि आग्रह गर्नुभएको छ । डोटी जिल्लाबाटै संघीयमन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेश मन्त्री गरी तीन जना मन्त्री रहेको तर गठबन्धनका नाममा कांग्रेस कार्यकर्ताहरुलाई पेलेको उहाँले आरोप लगाउनुभयो । ‘कसैको पार्टी जोगाइदिनका लागि हामीले आफ्नै जीउमा आगो लगाउनु जरुरी छैन’ बलायरले भन्नुभयो ‘त्यसैले म भन्छु, नेपाली कांग्रेसले बनाएको संविधान जोगाउन कांग्रेस एक्लैले प्रयास गर्छ, कोही जोडिन् आउँछन् भने ठीकै छ ।’

उहाँले माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेस नरहेको बताउनुभयो । पूर्वमन्त्री बलायरले कांग्रेस एक भएर चुनावमा गयो भने डोटीका नौवटै स्थानीय तहमा जित्ने दाबी गर्नुभयो । उहाँले निर्वाचनमा कांग्रेस बाहेक अरु कसैलाई भोट हाल्न नपर्ने र कांग्रेस बहुमतले विजय हुनेमा विश्वस्त रहन नेता कार्यकर्तालाई अनुरोध गर्नुभयो । उहाँले कम्युनिस्ट सरकारले भ्रष्टाचार गरेर देशको ढुकुटी रित्याएकोले अहिले देशमा आर्थिक संटक देखा परेको आरोप लगाउनुभयो ।

‘गाउँगाउँमा जानुहोस्, कम्युनिस्ट सरकारले गरेको गलत क्रियाकलापहरूको भण्डाफोर गर्नुहोस्’ आफ्नो मन्तव्यको अधिकांश समय कम्युनिस्टहरूको विरोधमा खर्चेका बलायरले कार्यकर्ताहरूलाई निर्देशन दिँदै भन्नुभयो, ‘सबै नेता कार्यकर्ताहरू एकढिक्का भएर अभियान सफल हुनेछ ।’कम्युनिस्टहरूले देशमा ब्रम्हलुट गरेको आरोप लगाउँदै बलायरले जनताले पनि कम्युनिस्टहरूलाई प्रश्न गर्नु पर्ने बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार